विश्व सामाजिक मञ्चको आजदेखि सम्मेलन

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विश्व सामाजिक मञ्चको आजदेखि सम्मेलन

 

 

काठमाडौं  : ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६ औँ संस्करण बिहीबार शुरु हुँदैछ। भृकुटीमण्डपमा बिहान ११ बजे शुरु हुने सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहनेछ।
सम्मेलनमा एक हजार २५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर ४०० कार्यक्रम दर्ता भएका छन् । विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ।

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य र शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ।

नेपाल आयोजक समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकेले मञ्चले  नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद र द्वेषविरुद्ध सामूहिक आवाज उठाउँदै आएको जानकारी दिए।

सम्मेलनमा वर्ल्ड फेमिनिस्ट फोरमले लैङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकारजस्ता विषयमा बहस गर्नेछ। सीमान्तकृत सामाजिक समूहले लैङ्गिकता यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, अपांगता भएका समुदायका सवालमा कार्यक्रम गर्नेछन्। यस्तै डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाको संरक्षण र जवाफदेहिताजस्ता विषयमा बहस गर्नेछ।

मञ्चको अन्तर्राष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र : ऐक्यबद्धता, सामाजिक र पुँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र संघर्ष, प्यालेस्टाइन समसामयिक सवालमा सन्ध्याकालीन क्याफे संवाद हुनेछ। अरविक र पोर्तुगिज गरी छ भाषामा ‘पोडकास्ट’ बाट अनुवाद हुने जनाइएको छ।

सम्मेलन फागुन ७ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय