२९ पुस, काठमाडौं ।
राजनीतिज्ञ सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुन लागेका छन्।

सायमी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्ने तयारीमा छन्। यही निर्वाचनलाई लक्षित गर्दै उनी नेकपाबाट अघि बढ्ने भएका हुन्।
सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिएका छन्। उनका अनुसार भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा एकता सभा आयोजना गरिएको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। त्यस चुनावमा उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय रहेर वैकल्पिक राजनीतिक शक्ति एकीकृत गर्ने प्रयासमा लागेका थिए।
त्यसैगरी, २०७९ कै प्रतिनिधिसभा निर्वाचनमा पनि उनले उम्मेदवारी दिएका थिए। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए। उक्त निर्वाचनमा उनले ६ हजार १७९ मत पाएका थिए।
पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए।
५२ वर्षीय सुमन सायमी काठमाडौंको कालीमाटी निवासी हुन् र काठमाडौंका रैथाने समुदायमा उनी परिचित व्यक्ति मानिन्छन्।
