विराटनगर । कोशी प्रदेशका दुई जना पालिका प्रमुख नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनीहरूले टिकट पाएका हुन्।

इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्। उनी २०७४ सालमा नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए। पार्टी विभाजनपछि एकीकृत समाजवादीमा गएका राई २०७९ मा कांग्रेस–माओवादी गठबन्धनबाट पुनः मेयर बनेका थिए। यस पटकको चुनावमा उनको प्रतिस्पर्धा एमालेका काजीमान कागतेसँग हुने छ। यसअघि पनि यी दुईबीच स्थानीय तहको चुनावमा प्रतिस्पर्धा भएको थियो।
त्यस्तै, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई पनि प्रतिनिधिसभा चुनावी मैदानमा उत्रिएका छन्। युवा र ऊर्जावान् नेताका रूपमा चिनिने असिम राईको प्रतिस्पर्धा एमालेकी उम्मेदवार कल्पना राईसँग हुनेछ। रोचक कुरा के छ भने यी दुवै उम्मेदवार एउटै पालिकाका हुन्।
यसरी कोशी प्रदेशका दुई स्थानीय तहका प्रमुखहरू संघीय संसद्को चुनावमा प्रतिस्पर्धा गर्न लागेका छन्।
