काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्लाका उम्मेदवार टुंग्याएको छ।
पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लामा उम्मेदवारको नाम तय भइसकेको जानकारी दिएका छन्। उनका अनुसार केही नाम मिलाउन बाँकी रहेकाले ती टुंगिएपछि सार्वजनिक गरिनेछ।

‘हिमाली जिल्लाका उम्मेदवार टुंग्याएका छौँ, केही नाम मिलाउन बाँकी छ,’ मन्सुरले रातोपाटीसँग भने।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विवादका बाबजुद सहमतिमै हिमाली जिल्लाका उम्मेदवार छनोट गरिएको कांग्रेस नेताहरूले बताएका छन्।
अन्य जिल्लाका उम्मेदवार टुंग्याउन पार्टी नेताहरूबीच छलफल भइरहेको र अपराह्नसम्म सबै प्रक्रिया पूरा हुने पनि उनले जानकारी दिए।
