नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ। महाधिवेशनका लागि बिहान सवा ८ बजेदेखि प्रतिनिधिहरूको नाम दर्ता सुरु गरिएको हो।
अहिलेसम्म देशभरका महाधिवेशन प्रतिनिधिमध्ये ४९.३४ प्रतिशतले नाम दर्ता गराइसकेका छन्। कुल ४ हजार ७ सय ४३ जना प्रतिनिधिमध्ये करिब २ हजार ३ सय ४० जनाले नाम दर्ता गराएका हुन्।

दर्ता प्रक्रिया काठमाडौंको भृकुटीमण्डपस्थित मूलगेट नजिकका स्टलहरूमा भइरहेको छ। सातै प्रदेशका प्रतिनिधिका लागि छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको छ।
नाम दर्ता गर्न आउँदा प्रतिनिधिले पहिचान खुल्ने कागजात, एक प्रति पासपोर्ट साइज फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क साथमा ल्याउनुपर्ने आयोजकले जानकारी दिएका छन्।
यसअघि गत असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। कांग्रेस विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थालाई आधार मानेर, पार्टीभित्र सुधार र पुनर्जागरणको उद्देश्यसहित महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन सुरु गरिएको हो।
