गायक तथा अभिनेता प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार सूचीमा परेपछि चर्चामा आएका छन्। संगीत र फिल्ममा सक्रिय उनी राजनीतिमा आउनेबारे यसअघि खुलेर नबोलेका कारण उनको नाम उम्मेदवार सूचीमा आएपछि धेरैले यसलाई ‘सरप्राइज’का रूपमा लिएका छन्।

सेतोपाटी कन्भरसेसनमा अभिनेता दयाहाङ राईसँग कुरा गर्दै प्रकाश सपूतले राजनीति आफ्नो जस्तो सोझो व्यक्तिका लागि सजिलो क्षेत्र नभएको बताएका छन्। उनले आफूलाई राजनीति गर्न सक्छु भन्ने पूर्ण आत्मविश्वास नभए पनि नीति निर्माण गर्ने तहमा पुगे आफ्ना कुरा सुनिन सक्छन् भन्ने आशा रहेको बताए।
उनका अनुसार अहिलेको नेपाली राजनीतिलाई व्यक्तिगत फाइदा र अवसर खोज्ने माध्यम बनाइएकाले आम मानिसमा नकारात्मक धारणा बनेको छ। यही कारणले राजनीति निकै जटिल र कम्लिकेटेड क्षेत्र जस्तो लाग्ने गरेको उनले बताए।
प्रकाश सपूतले आफू रास्वपामा अनौपचारिक रूपमा आबद्ध भएको र नयाँ राजनीतिक समूहले केही फरक काम गर्न सक्छ भन्ने विश्वासका कारण राजनीतिमा आउने निर्णय गरेको बताए। उनले समानुपातिक सूचीमा आफू धेरै तल्लो क्रममा पर्ने अनुमान पनि गरे।
उनका भनाइमा राजनीतिमा लाग्दा करिअर बिग्रने, बदनाम भइने र भविष्य असुरक्षित हुने डरले धेरै सक्षम र इच्छुक व्यक्ति राजनीतिबाट पछि हटिरहेका छन्। तर राजनीतिमा आएर इमानदारीपूर्वक राम्रो काम गर्न सके यस क्षेत्रप्रतिको सोच पनि बिस्तारै बदलिन सक्ने उनको विश्वास छ।
देशका लागि केही गर्न सकिन्छ भन्ने आशाले आफू राजनीतिमा आएको प्रकाश सपूतले बताएका छन्।
