
प्रधानमन्त्री नै रहनेअबको दुई वर्ष प्रचण्ड , त्यसपछि ओली
सरकारको बाँकी कार्यकाल आधा-आधा बाँड्ने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको छ।
कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच यो सहमति भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो|
‘हाम्रा अध्यक्ष र प्रधानमन्त्रीबीच धेरै कुरा प्याकेजमै सहमति भएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘सरकारको बाँकी कार्यकाल २/२ वर्ष बाँड्ने उहाँहरूबीच भएको एउटा सहमति हो।’
पोहोर पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्ष/ साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो।
तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो।
एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्ड सँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो। एमाले सहितका मन्त्रीहरूले आजै शपथ लिँदैछन्।
प्रचण्ड र ओलीबीच नयाँ सहमति भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने च्याप्टर भने अब बन्द भएको छ।
माओवादीले समाजवादीलाई गठबन्धनमै रहन आग्रह गर्ने निर्णय गरे पनि प्रधानमन्त्री दिन भने तयार छैन।
‘तर कांग्रेस सहितको पुरानो गठबन्धन टुटेपछि माधवजीलाई प्रधानमन्त्री दिने पुरानो सहमति भने स्वतः टुट्यो,’ नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘अब हामी नयाँ बाटोमा गयौं, वामपन्थी ध्रुवीकरणको यो यात्रामा माधवजी सँगै रहनुहुन्छ भन्ने अपेक्षा छ।’
२०७९ को चुनावी तामलेम हुँदा नै पुरानो गठबन्धनका बीचमा क्रमशः प्रचण्डले दुई, माधवकुमार नेपालले एक र शेरबहादुर देउवाले २ वर्ष सरकार चलाउने सहमति भएको थियो। गत पुस १० गते प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा निष्क्रिय भएको उक्त सहमति पोहोर चैतमा कांग्रेस सरकारमा सहभागी हुँदा फेरि ब्युँतिएको थियो।
एमालेका एक नेताका अनुसार ओली पनि नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर जाने कुरामा सकारात्मक छन्।