
अध्यक्ष ठाकुरलाई ज्ञापनपत्र, नेतृत्व छाड्न माग गर्दै लोसपा महासचिवले झाले बुझाए
लोकतान्त्रिक समाजवादी पार्टीका महासिचव केशव झाले पार्टीको नेतृत्व छोड्न अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन्। अध्यक्ष ठाकुरलाई ज्ञापनपत्र बुझाउँदै झाले अब पार्टीको जिम्मा उत्तराधिकारीलाई लगाउनुपर्ने बताएका छन्।
‘नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा त अझै भागबन्डा गरेर पार्टी बलियो बनाउने कार्य भइरहेको छ भने भागबन्डाको राजनीतिले पार्टी कमजोर हुन्छ भनेर बुझ्नु गलत भयो कि? अझै केही बिग्रिएको छैन अध्यक्षज्यू, गति बढाउनलाई अब गियर चेन्ज गर्ने बेला भएको छ । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिने पो हो कि अध्यक्षज्यू?’, झाले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ, ‘अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि? इतिहासले सधैं अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला।’
मधेसको राजनीतिक आन्दोलन अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन नसकेको बताउँदै झाले त्यसकै कारण मधेशमा मधेशी पार्टीहरू कमजोर भएर पुरानै एमाले, कांग्रेसजस्ता पार्टीहरू बलियो भएको निष्कर्ष निकालेका छन्।
‘तपाईंले ‘मरे तो मुक्ति, जिए तो मधेश’ भन्नुभयो। आज १६ वर्ष भयो, मधेशको नेतृत्व यहाँले गरिराख्नु भएको छ। स्वमूल्याङ्कन गर्ने बेला भयो कि? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्षज्यू,’ झाले अध्यक्ष ठाकुरलाई बुझाएको ज्ञापनपत्रमा भनेका छन्, ‘तमलोपादेखि लोसपासम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? मधेशी जनतासामू श्वेतपत्र जारी गर्ने बेला भयो स्वेतपत्र जारी गर्नुपर्ने बेला भएको छ।’