रघुजी भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देशको हितमा छैन
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देश हीतविपरित भएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले यो सम्झौताले नेपालको स्वतन्त्रता, आर्थिक सम्पन्नतालाई अवरोध गर्ने दाबी गरे।
उनले सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, व्यवहार र हस्तक्षेपलाई प्रवेश गर्ने मौका दिने बताए। उनले सम्झौताले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश दिने भन्दै सम्झौतामा पुनः विचार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे।
सांसद पन्तले भारतीय विदेशमन्त्री आएकै दिन चीनको प्रतिनिधि मण्डल पनि आएको विषयलाई लिएर भारतीय विदेशमन्त्री एस जयशंकरले आपत्ति जनाएको भन्दै यो विषय नेपालको कूटनीतिक दृष्टिकोणबाट उचित नरहेको बताए।
उनले भने, ‘हामीले भारतको मात्रै लगानी हुने कुरालाई स्वीकार्न हुँदैन। चीन, अमेरिका, बंगलादेश लगायतका धेरै देशहरु छन्, उनीहरुलाई पनि लगानीका लागि आग्रह गरेका छौँ। सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको कुरा हो। आगामी ५ वर्षका लागि भारतीय दुतावासले खर्च गर्दै आएको ५ करोड रुपैयाँ थियो, त्यसमा २० करोड रुपैयाँ पुर्याउने सम्झौता भएको भन्ने कुरा आयो। यसले नेपालको स्वतन्त्रता, आर्थिक सम्पन्नतालाई अवरोध गर्छ।’