
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह उपनिर्वाचनमा तालमेलकै नीति अख्तियार गरेको छ । सो पार्टीले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचन एक्लै लड्नेगरी तयारी गर्ने भनेपनि सो आन्तरिकरुपमा तालमेलको ढोका भने खुलै राखेको हो । यसका लागि माओवादी केन्द्रले पार्टीको मातहतका कमिटीलाई सर्कुलर नै पठाएर स्पष्ट पारेको छ । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार केन्द्रीय कार्यालयबाट स्थानीय तह उपनिर्वाचनका सन्दर्भमा ‘विशेष परिपत्र’ जारी भएको छ । हाललाई एकल रूपमा चुनाव लड्नेगरी तयारी गर्ने तर अन्य दलसँग सहकार्य गर्नेबारे पहल भने जारी राख्नेगरी परिपत्र भएको ती नेताको भनाइ छ । तर माओवादीले नेपाली कांग्रेस, नेकपा एमालेसहितका सत्तारुढ दलसँग भने तालमेल नगर्ने नीति लिएको छ । गत साउनमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी आम निर्वाचनमा तालमेल नगर्ने र आफ्नो शक्तिमा चुनाव लड्ने निर्णय गरेको थियो । जनतासँग सम्बन्ध टुटेकाले अब तलसम्म जानेगरी कार्यक्रम बनाउने र चुनावसम्म सबै जनासम्म पुग्ने निर्णय भएको त्यतिबेला उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताएका थिए । ‘आउने चुनावमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेका छौँ । त्यसअघि हाम्रो नीति, विचार र कार्यदिशा सोझै जनतामा पुर्याउँछौँ । यो जनतामा जाने सुवर्ण अवसर पनि हो’, सापकोटाको भनाइ थियो ।पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पार्टीका कार्यक्रमहरूमा एक्लै चुनाव लड्ने बताउँदै आएका छन् । पार्टीको दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समितिले असोज १९ गते गरेको कार्यक्रममा प्रचण्डले उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका थिए । विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको उनको भनाइ थियो ।
श्रोत:https://www.ratopati.com