पोखरा । सरकारले नयाँ दर्ता हुने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । इम्बोस्ड नम्बर प्लेटका लागि तोकिएको शुल्क नतिरेसम्म सवारी नै दर्ता हुँदैनन् । यातायात व्यवस्था कार्यालय कास्की कार्यालयले नयाँ दर्ता भएका सवारीसँग इम्बोस्डको लागि शुल्क असुल गरे पनि हालसम्म प्लेट प्लेट चाहिँ उपलब्ध गराएको छैन । कार्यालयमा आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी साधन दर्ता भए । मोटरसाइकल ८ हजार ६ सय २०, साना सवारी १ हजार १ सय ४९ र ठुला सवारी ४ सय २२ वटा दर्ता भएका हुन् । कार्यालयका अनुसार मोटरसाइकलको लागि २ हजार ५ सय, साना गाडीको लागि ३ हजार २ सय र ठुला सवारीको लागि ३ हजार ६ सयका दरले रकम उठाइएको छ ।इम्बोस्ड नम्बर प्लेटका लागि भनेर २ करोड ६७ लाख ४६ हजार रुपैयाँ सङ्कलन गरिएको छ । इम्बोस्ड नम्बर प्लेटका लागि रकम तिरेको वर्ष दिनसम्म पनि उपभोक्ताले साधारण प्लेट नै प्रयोग गर्न बाध्य छन् । ‘उपभोक्ताहरू इम्बोस्डको रकम तिर्नै मान्नुहुन्न । हामीले जबरजस्ती लिइरहेका छौँ,’ कार्यालयका निमित्त प्रमुख अशोक गौतमले भने, ‘प्लेट उपलब्ध गराइदिन धेरै पटक विभागमा पत्र लेखेका छौँ । विभागले प्लेट उपलब्ध गराइदिएको छैन । हामीले के दिने ? उपभोक्तालाई न प्लेट दिन सकियो, न जवाफ दिन सकियो ।’ यसबाहेक गएको वर्ष मात्रै विद्युतीय गाडी समेत ५ सय २८ वटा दर्ता भएका छन् । मोटरसाइकल स्कुटर ९० वटा, कार ३ सय ७० वटा, पिकअप भ्यान १३ वटा र माइक्रो बस ५५ वटा दर्ता भएका कार्यालयले जनाएको छ । कार्यालयले गएको वैशाख २५ गते इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराइदिन लिखित निवेदन नै पठाएको थियो । ‘सरकारी चार पाङ्ग्रे १ सय ७, दुई पाङ्ग्रे २ सय १२, भाडाका चार पाङ्ग्रे ९५ भन्दा बढीले राजश्व रकम भुक्तान गरी प्लेट कुरिरहेकोले थप अन्य प्लेट पनि शीघ्र उपलब्ध गराइदिन अनुरोध छ,’ विभागमा पठाइएको पत्रमा उल्लेख छ ।
त्यसपछि असोज असोज १ गते अर्को पत्र पठाएर पुनः नम्बर प्लेट मागेको छ । २०८० चैत १८ गते पनि विभागमा नम्बर प्लेट माग गरी पत्र पठाइएको गौतमले जानकारी दिए । ‘धेरै पटक पत्र पठाइयो । कुनै प्रतिक्रिया पाएका छैनौँ,’ उनले भने, ‘चैतमा पठाएको पत्रको जवाफ नआएपछि असोजमा अर्को पत्र गएको छ ।’ विभागकै परिपत्र अनुसार सवारीको नयाँ दर्ता र नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट जडानको लागि भनेर छुट्टै शुल्क असुलिएको हो । ‘नम्बर प्लेट उपलब्ध गराउन नसक्दा थप समस्या सिर्जना भएको छ । त्यसैले माग बमोजिम को नम्बर प्लेट तत्कालै उपलब्ध हुनुपर्छ,’ गौतमले थपे, ‘अहिलेकै प्लेट दिन नसकेपछि अब प्लेट बापतको शुल्क लिने वा नलिने भन्ने अन्योलमा छौँ ।’यस्तै, ट्याक्टर र पावर टिलर १२ हजार २ सय १२, क्रेन, डोजर, एक्स्काभेटर र ट्रक ७ हजार ८९, पिकअप भ्यान ३ हजार ४ सय १० र टेम्पो ४७ वटा दर्ता भए । यातायात व्यवस्था कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७५।०७६ देखि विद्युतीय सवारीको पनि दर्ता सुरु भएको छ । हालसम्म ९ सय ९० वटा विद्युतीय सवारी दर्ता भएका कार्यालयले जनाएको छ । त्यसमध्ये मोटरसाइकल र स्कुटर ३ सय ७३ वटा छ भने कार सबैभन्दा धेरै ५ सय ४९ वटा छ । पिकअप भ्यान १३ वटा र माइक्रो ५५ वटा दर्ता छन् ।
श्रोत:https://www.ratopati.com