बाढीले सवारी साधनमा क्षति पुग्यो? यस्तो अवस्थामा पाइन्छ बीमा

२०८१ आश्विन १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गत साता शुक्रबार र शनिबार परेको अरिवल वर्षाको कारण मुलुकभर बाढी पहिरो गयो।

यो क्रममा धनजनको पनि क्षति भयो। प्रारम्भिक सरकारी अनुमान अनुसार मुलुकभर २२ अर्बभन्दा धेरैको क्षति भएको मानिएको छ।

यो क्रममा गुडिरहेका सवारी साधनहरूमा पनि क्षति पुग्यो। यस्तोमा सवारी साधनको क्षतिपूर्ति पाइन्छ त भनेर कतिपयले जिज्ञासा राखिरहेका छन्।

‘बीमा गरिएका सवारी साधनको क्षतिपूर्ति पाइन्छ,’ शिखर इन्स्योरेन्सकी सूचना अधिकारी सविता मासके भन्छिन्, ‘कुन बीमा गरिएको छ, त्यही अनुसार क्षतिपूर्ति पाइन्छ।’

सावारी साधानको दुई किसिमको बीमा गरिएको हुन्छ। पहिलो हो तेस्रो पक्ष बीमा।

तेस्रो पक्ष बीमा सरकारले नै अनिवार्य गरेको बीमा हो। यो बीमाले कुनै सवारी साधानले दुर्घटनाको क्रममा अर्को सवारी साधन वा अरूको सम्पत्तिलाई नोक्सान गरेमा त्यसबापत हुने दायित्वको भुक्तानीको लागि रकम दिन्छ। तर, सोही सवारीमा भएको क्षति बापतको रकम भने दिँदैन। ‘चालक, त्यसमा सवार यात्रु र त्यो सवारीको कारण अर्को सवारी वा सम्पत्तिमा भएको क्षति यो बीमाले व्यर्होछ,’ मास्केले थपिन्।

मास्केका अनुसार चालक, यात्रुको मृत्यु हुँदा बढीमा पाँच लाख रूपैयाँ र अस्पतालको खर्च भएमा बढीमा तीन लाख रूपैयाँ खर्च दिइन्छ।

Ncell
एउटै सवारीले एकभन्दा बढी सवारीलाई क्षति पुर्‍याएको अवस्थामा भने २५ देखि ६० लाखसम्म दिइन्छ। मोटरसाइकल दुर्घटनाको कारणले भए अधिकतम २५ लाख र चारपाङ्ग्रे ठूला सवारीले गरेको क्षतिमा ६० लाखसम्म दिइन्छ।

अन्यको सवारी वा सम्पत्ति क्षतिको मूल्यांकनको आधारमा पनि यस्तो रकम उपलब्ध गराइन्छ। यस्तो ठूलो क्षतिको मूल्यांकन बीमा कम्पनीमा आबद्ध सर्वेयरहरूले गर्छन्। त्यसैले यस्तो बीमा गरेकाको सवारीमा बाढी पहिरोको कारण भएको क्षतिको रकम दिइँदैन।

तर, सवारीधनीले सवारीकै बीमा (व्यापक बीमा) गराएको छ भने यस्तोमा त्यो सवारीमा भएको क्षतिको समेत बीमा दिइन्छ।

प्राकृतिक प्रकोपबाट हुने क्षतिको समेत भुक्तानी हुने मास्के बताउँछिन्। यदि कसैले व्यापक बीमा गराउँदा हुलदंगा र आतंकको कारण हुने क्षतिको समेत बीमा समेत दाबीमा राखेको छ भने यसकारणबाट हुने क्षतिको पनि दाबी भुक्तानी हुन्छ।

सवारी साधानको बीमा गराउँदाको समयको मूल्यको आधारमा नै व्यापक बीमा गरिएको हुन्छ। त्यसैले त्यो सवारीमा हुने क्षतिको आधारमा दाबी रकम दिइन्छ।

यदि बाढीले सवारी नै बगाएर नभेटिएको अवस्था छ भने पनि दाबी पाइन्छ। तर, त्यसको लागि प्रहरी रिपोर्ट समेत पेस गर्नुपर्ने हुन्छ।

गत असोज १३ गते बीमा प्राधिकरणले कम्पनीहरूलाई बोलाएर बाढी पहिरोको कारण भएको क्षतिको विवरण संकलन गर्न र दाबी भुक्तानीमा सरल प्रक्रिया अपनाउन समेत निर्देशन दिएको छ।

श्रोत:https://www.setopati.com/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय