
दसैँ सुरु भएसँगै काठमाडौँबाट घर फर्किने यात्रुको चाप बढेको छ । यससँगै मुग्लिन–नारायणगढ सडक अहिले व्यस्त बनेको छ ।अघिल्लो साता निरन्तर परेको वर्षाका कारण बाढी–पहिरोले काठमाडौँ उपत्यका जोड्ने धेरैजसो राजमार्ग अवरुद्ध छन् । विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा रोशी खोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपालको पूर्वतर्फका अधिकांश जिल्ला जोड्ने बीपी राजमार्ग अवरुद्ध हुँदा अहिले मुग्लिन–नारायणगढ सडकमा सवारी साधनको चाप बढेको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सवारीको चाप बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न सरकारले सहजीकरण गरिदिनुपर्ने बताए ।‘विपद्को घडीमा वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न तथा जुनसुकै राजमार्गबाट पनि गन्तव्यमा पुग्न सकिने भएको छ । तर सबैजसो राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग भएर जान सक्ने अवस्था नरहेकाले सरकारले छिटोभन्दा छिटो अवरोध हटाउनु पर्छ,’ उनले भने ।
श्रोत:https://www.ratopati.com/