यस्तो बन्यो ‘हेर्ने कथा’का प्रकाश तामाङको घर सहयोग गर्न माओवादी–एमालेबिच प्रतिस्पर्धा

२०८१ आश्विन १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युट्युबमा सर्वाधिक हेरिएको डकुमेन्ट्री ‘हराएका वर्षहरू’का प्रमुख पात्र प्रकाश तामाङ भाइरल भएपछि उनलाई सहयोग गर्न एमाले र माओवादीले प्रतिस्पर्धा गरिरहेका छन् ।गत भदौै ८ गते युट्युबमा ‘हेर्ने कथा’ शृङ्खला अन्तर्गत सार्वजनिक गरिएको सो भिडियोले १ करोड १४ लाख भ्यूज पाएको छ । झण्डै ३५ वर्ष आफ्नै देशमा गुमनाम भएका उनको कथा हेरेर धेरै नेपाली भावुक बने ।नागरिकता बनाउनसमेत झमेला बेहोरेका उनलाई भाइरल हुने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सहज रूपमा बनाइदिन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरका कर्मचारी ढड्डा नै बोकेर तामाङको घरमा पुगी नागरिकता दिएका थिए ।भिडियो सार्वजनिक भएको दुई दिनमै भोजपुरको षडानन्द गाउँपालिकामा अर्काको जग्गामा बसेका प्रकाशको परिवारका लागि माओवादी केन्द्रका सांसद सुदन किराँतीले घर–जग्गा व्यवस्था गर्ने घोषणा गरे । घोषणा अनुरुप तत्कालै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईले आफ्नो पुर्ख्यौली १० रोपनी हाराहारी जग्गा दिए । डोजरले घडेरी खारेर सांसद किराँतीको पहलमा घर बनाउन थालियो ।माओवादीले घर जग्गा दिएर प्रकाशलाई सहयोग गरिरहेको बेला नेकपा एमाले पनि सहयोगको प्रतिस्पर्धामा उत्रिएको छ । एमालेका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पनि प्रकाश तामाङलाई हालै जग्गा दिएका छन् । तामाङको परिवार बसेको घरमा पुगेर राईले श्रीमतीसँग मिलेर असोज १३ गते ५ रोपनी ३ आना जग्गा, एक हल गोरु र जोत्ने एउटा ट्याक्टर सहयोग गरेका छन् ।जग्गा हस्तान्तरण गर्दै उनले प्रकाशको जीविकोपार्जनलाई सहज होस्, बाँकी जीवन आमाबुबाको सेवा गरेर गाउँमा बस्ने, जग्गा भयो भने कृषिकर्म गरेर बस्ने भनेपछि सो भनाइबाट आफू प्रभावित भएर सहयोग गरेको बताएका छन् । आफू भोजपुरवासी तथा जनप्रतिनिधि भएकाले खेतबारीमा काम गर्न सहज होस् भनेर गोरु, ट्याक्टरसहित जग्गा सहयोग गरेको उल्लेख गरेका छन् । राईले श्रीमती जाङ्मु शेर्पासँग सल्लाह गरेर उनको नामको जग्गा तामाङलाई पास गरेर लालपूर्जा हस्तान्तरण गरेका छन् ।

श्रोतhttps://www.ratopati.com/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय