आत्तिएका रवि लामिछाने

२०८१ आश्विन ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोर्खा मिडिया नेटवर्क मार्फत सहकारीको बचत रकम अपचलनको आरोपमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ पर्नुको ठूलो असर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको छ ।आइतबार काठमाडौंको शंखमूल क्षेत्रबाट जोशी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछाने सहित पार्टीपंक्ति आत्तिएको घटनाक्रमहरुबाट बुझ्न सकिन्छ ।जोशी पक्राउ पर्नासाथ रास्वपाका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । उपलब्ध नेताहरुको बैठक नै बसेर रवि लामिछाने पक्राउ पर्न सक्नेबारे छलफल गरेका थिए । स्रोतका अनुसार रवि लामिछानेलाई पक्राउ गर्नकै निम्ति छविलाललाई समातिएको निष्कर्ष बैठकले निकाल्यो ।‘छविलाल जोशी समातेर बयान लिएपछि त्यही बयान रवि लामिछाने पक्राउ पर्ने आधार बन्छ । सरकारले यही षड्यन्त्र अन्तर्गत छविलाल समातेका हुन् भन्ने निष्कर्ष हो’, रास्वपा स्रोतले भन्यो ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रहेका डीआईजी दानबहादुर कार्की भने यसबारे कुनै प्रक्रिया अगाडि नबढेको बताउँछन् । ‘पहिलो कुरा त औपचारिक रूपमा हामीकहाँ प्रतिवेदन आइसकेको छैन । प्रतिवेदन आएपछि अध्ययन गरेर अनुसन्धानको क्रममा केही खुलेमा प्रक्रिया अघि बढ्ने हो’, डीआईजी कार्की भन्छन् ।तर गोर्खा मिडिया नेटवर्क मार्फत सहकारी बचत रकम अपचलनमा गितेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी र कुमार रम्तेलसँगै रवि लामिछाने पनि संलग्न रहेको संसदीय समितिले प्रतिवेदन तयार पारेकाले उनी उच्च निगरानीमा छन् ।दुईपटक गृहमन्त्री बनिसकेका रवि पनि सहकारी अपचलनको मुद्दाबारे सकेसम्म जानकारी लिएरै बसेका छन् । आइतबार पनि प्रहरी स्रोत र सत्तारुढ नेताहरुसँग लगातार सम्वाद गरिरहेका थिए । तर उनी ढुक्क हुन सकेनन् । आइतबार रातिसम्म केन्द्रीय कार्यालयमा नेताहरुसँग बसे, कार्यकर्ता बोलाएर सम्बोधन गरे ।पक्राउ गरिए प्रतिवादमा उत्रन पटकपटक अपिल पनि गरे । ‘.. ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिँदैनौं, कुनै हालतमा हुन दिंदैनौं’, रविले भने, ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । तयार भएर रहनु होला, अलर्टमा रहनुहोला ।’

श्रोत:https://www.onlinekhabar.com/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय