
८ भदौ, धनगढी
कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालत कैलालीले दुई वर्षसम्म फैसला सुनाउन सकेको छैन ।बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएपछि प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।त्यसपछि अन्तिम सुनवाइका लागि जिल्ला अदालतले पेशी तोकेपनि कहिले जिल्ला सरकारी वकिलको कार्यालय र कहिले प्रतिवादीका कानुन व्यवसायीबाट पेशी सार्दै आएको पाइएको छ ।पटक–पटकको सुनवाइपछि २६ चैत २०८० मा जिल्ला अदालतका तत्कालीन न्यायाधिश विष्णुप्रसाद अवस्थीको इजलासले प्रतिवादीको बयान लिने र वादी पक्षको बकपत्र गराउने काम सकिसकेको छ ।जिल्ला अदालतका सूचना अधिकारी कमल घलेले तत्कालीन न्यायाधीश अवस्थीको इजलासले गत २६ चैतमा टिपोट तयार गरेर पेश गर्न आदेश दिएको तर अहिलेसम्म सुनवाइको प्रक्रियामा जान नसकेको बताए ।उनका अनुसार पछिल्लो पटक ३० साउनमा पेशी तोकिएको थियो तर जिल्ला सरकारी वकिलको कार्यालयले स्थगित गराएको थियो । ६ महिनाको अवधिमा सरकारी वकिलको कार्यालयकाबाट तीन र प्रतिवादीका कानुन व्यवसायीको तर्फबाट चारपटक पेशी स्थगित गरेको देखिएको शाखा अधिकृत घलेले बताए ।सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीले पटक–पटक मुद्दाको पेशी सारेपछि मुद्दालाई कमजोर पार्ने चलखेल भइरहेको आशंका पीडित पक्षले गरेको छ । मृतकका ठूलो बुवा भगत बडुवालले प्रतिवादी पक्षले कानुन व्यवसायीमार्फत प्रशासन र अदालतलाई प्रभावित पार्ने उद्देश्यले अन्तिम फैसलामा ढिलाइ भइरहेको हुनसक्ने बताए ।बडुवालको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उनीहरुमध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा छन् भने अरु फरार छन् ।
श्रोत:https://www.onlinekhabar.com