जनकपुर मा टिपरको बदमासीमा प्रहरीको अनदेखा

२०८१ आश्विन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

असोज ६ गते , जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-२ सोहनीका किसान मिथुन यादव दूध बेच्न दिनहुँ जनकपुर आउ-जाउ गर्छन् । करिब पाँच किलोमिटर यात्रा गर्दा ६ लेन सडकमा उड्ने धुलो र असरल्ल छरिएका गिट्टीले वाक्कदिक्क छन् मिथुन ।‘सिक्स लेनमा चल्ने धेरैजसो टिपर र ट्याक्टरमा गिट्टी, बालुवा ओभरलोड हुन्छ । त्रिपालले छोपे पनि पछाडिबाट खस्ने बालुवा आँखामा पर्छ । गिट्टी बाटोभरि छरिन्छ । साइकल चलाउँदा दुर्घटना हुने खतरा रहन्छ,’ मिथुन गुनासो गर्छन् ।

‘भिजेको बालुवाबाट चुहिरहेको पानीको छिटा परेर परेर लुगा नै फोहोर हुन्छ । सुक्खा बालुवा आँखामा परेर बिझाउँछ,’ महतो भन्छन् ‘बदमासी बढेकोबढ्यै छ तर ट्राफिक प्रहरीले वास्तै गर्दैनन् ।’जनकपुर-ढल्केवर ६ लेन सडकमा मिथुन यादवकै जस्तो सास्ती भोग्न बाध्य छन् धनुषाको बटेश्वर गाउँपालिका ३ का विनोद महतो पनि । उच्च अदालत जनकपुरका नायब सुब्बा महतो अदालत आउजाउ गर्दा बालुवा उडेर कहिले आँखामा र कहिले लुगामा पर्ने गरेको बताउँछन् ।बिहीबार अपराह्न ५ बजेदेखि ५ः३० बजेको बीचमा ट्राफिक चेकपोस्ट मुजेलियाका इञ्चार्ज (सई) दिनेशकुमार दासको नेतृत्वमा ट्राफिक प्रहरीहरु जाँचमा खटिएका थिए । जनकपुर आउने प्रायः मोटरसाइकललाई रोकेर सोधपुछ गरेका उनीहरुले एउटा टिपर र दुईवटा ट्याक्टरलाई रोकेनन् । म.प्र.०३.००१ ख ८५४५ नम्बरको टिपरलाई मात्र रोके, जुन टिपरबाट भिजेको बालुवाबाट धाराझैँ पानी चुहिरहेको थियो । करिब पाँच मिनेट रोकेर ट्राफिक प्रहरीले चालकबाट एउटा कागज लिएर छाडे । उक्त टिपर उसैगरी पानी चुहाउँदै, बालुवा उडाउँदै गन्तव्यतिर लाग्यो ।७ भदौको दिन बिहान साढे ९ बजेतिर ट्राफिक प्रहरी चेकपोस्ट सखुवा महेन्द्रनगरका प्रहरीहरु महेन्द्रनगर भन्दा तीन किलोमिटर दक्षिणमा चेकिङमा व्यस्त थिए । त्यसक्रममा पत्रकारको परिचय नदिइ ट्राफिक प्रहरी जवान रजनिश मिश्रालाई ‘टिपरलाई किन चेकिङ गर्नुहुन्न ?’ भनेर प्रश्न गर्दा उनी झर्किए । ‘हामीलाई किन सोध्नु हुन्छ ? हाकिमलाई गएर सोध्नुस् न’ उनले भने ।

श्रोत:https://www.onlinekhabar.com/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय