प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका

२०८१ आश्विन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी आज बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन् ।प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् ।संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् ।असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य : सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् ।प्रधानमन्त्री ओलीले असोज ६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्ने तयारी पनि गरेका छन् । यद्यपि यसको टुंगो भने लागिसकेको छैन ।प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

श्रोत :Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय