पहिरोमा हराएको सुनको बाला ६ महिनापछि भेट्टाएर फिर्ता :इमानदार ऋषि बा
पर्वत : जिल्लाको जलजला गाउँपालिका–६ नाग्लीवाङकी प्रजिना सुवेदी रेग्मी गत साउन २५ गते गाउँ फर्किँदै थिइन्। श्रीमान् बद्री रेग्मीलाई जापान उडाएर उनी काठमाडौंबाट घर फर्किइन्।
घरमा जाँदै गर्दा साउन २५ गते बेलुका नाग्लीवाङको छहरे खोलामा अचानक बाढी आयो। उनी भाग्ने क्रममा साथमा रहेको झोलामा नै खस्यो। झोलामा करिब तीन तोलाको हातमा लगाउने सुनको बाला र केही नगद पनि थियो। बाढीबाट ज्यान जोगाए पनि उनको झोला बचाउन सक्ने उपाय भएन। सुन र नगद हराएको पिर भन्दा पनि बाढीबाट ज्यान जोगिएकोमा रेग्मी खुसी थिइन्। २०७८ सालमा दुई लाख ४९ हजार खर्चेर किनेको बाला नै पानीमा बग्दा मनमा नरमाइलो त किन लाग्दैनथ्यो र?
बाढीमा परेको झोला भेटिएला, सुन र नगद फेरि पाउँछु भन्ने उनको मनमा लागेको थिएन। तर अहिले बजार मूल्य अनुसार करिब साढे तीन लाख रुपैयाँ पर्न आउने सोही सुनको बाला प्रजिनाले प्राप्त गरेकी छिन्।
नाग्लीवाङका वडाध्यक्ष विकास जि.सी.का अनुसार जलजला गाउँपालिका–८ का ६५ वर्षीय ऋषिराम पाध्याले खेतबारीमा सिचाइको नाग्लीवाङकै पाहारीमा रहेको तल्लो कुलोको मुहान सफा गर्दै थिए। मुहान खोतल्दै जाँदा धातुको बाला हातमा लागेपछि उनले धातुको यकिन गरे। गाउँमा रहेर कृषि पेसासँगै पण्डित्याइँ समेत गर्दै आएका पाध्याले सुन भेट्टाउनु र हराउनु दुवै नराम्रो हुने आहान सुनेकै थिए। त्यसमा पनि गाउँमा इमानदार छवि बनाएका पाध्याले आफूले भेट्टाएको बाला लिएर वडा कार्यालयमा पुगे।
साउनमा भएको घट्नाको बारेमा जानकार वडाध्यक्ष जि.सी. ले बाला गुमाएकी प्रजिनालाई पनि बाला खरिद गरेको बिल सहित वडा कार्यालयमा बोलाए। प्रहरी सहित केहीलाई रोहबरमा राखेर सुनको बाला प्रजिनालाई नै सोमबार फिर्ता गरिदिए। वडामा भेला भएका सबैले इमानदार पाध्याको दीर्घ आयुको कामना गरे। समाजमा उनकै जस्तो व्यवहार भइदिने हो भने अनुशासन कायम हुने उनीहरूले बताए।
‘हराएको भनेर आसा मारेको सामान उहाँले चाहेको आफै लुकाउन सक्नुहुन्थ्यो। तर इमानदार छविका बुबाले त्यो गहना गुमाउँदा कोही त पक्कै रोएको छ भनेर वडामा आउनुभयो। कसैको आँसु रोक्नको लागि यो इमान्दारीताको पाठ सबैले सिक्नुपर्छ’, वडाध्यक्ष जि.सी.ले भने, ‘इमान्दारीता आफैमा उत्तम धर्म हो। अहिलेको समाजमा यस्तै खालको मनोवृत्ति हुने हो भने चोरी, डकैती, छल, कपट सबैको अन्त्य हुन्थ्यो। समुदायमा एउटा दिएको पिडामा अर्को मान्छे रोएर बस्नुपर्ने थिएन।’