
युगाण्डा प्रस्थान प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका छन्। उनी कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि उनी गणतन्त्र युगाण्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा समेत सहभागी हुनेछन्।
सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पुत्री गङ्गा दाहाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन्।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
मन्त्रीस्तरीय बैठकमा सहभागी हुन माघ १ गते नै युगाण्डा पुगेका परराष्ट्रमन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठकमा सम्बाेधन गरिसकेका छन्।
शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ।
प्रधानमन्त्री यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ।