नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते बोलाएको विशेष महाधिवेशनलाई लिएर सुदूरपश्चिम प्रदेशमा विवाद बढेको छ। पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश भएकाले यहाँका महाधिवेशन प्रतिनिधिहरू दोहोरो दबाबमा परेका छन्।

संस्थापन पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको भन्दै बहिष्कार गर्ने घोषणा गरेको छ। त्यसका लागि सुदूरपश्चिमका ६ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिहरूलाई महाधिवेशनमा नजान निर्देशन दिएका छन्।
तर यो दबाबलाई चुनौती दिँदै नेता भीम बडुवालको नेतृत्वमा सुदूरपश्चिमका केही महाधिवेशन प्रतिनिधि काठमाडौं पुगेका छन्। बडुवालका अनुसार सुरुमा १४० जना प्रतिनिधिले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरेका थिए। अहिले धम्की, डर र दबाबका कारण केही प्रतिनिधि रोकिएको उनले बताए।
उनले संस्थापन पक्षले रोक्ने प्रयास गरे पनि सुदूरपश्चिमबाट कम्तीमा ४० प्रतिशतभन्दा बढी प्रतिनिधि काठमाडौं आउने दाबी गरे। उनका अनुसार केही प्रतिनिधि पहिले नै काठमाडौं पुगिसकेका छन् भने बाँकी बाटोमा छन्।
संस्थापन पक्षले विशेष महाधिवेशनले पार्टी फुट्न सक्छ भन्ने आरोप लगाएको छ। तर बडुवालले बहुमतले निर्णय गरे पार्टी फुट नहुने र नेतृत्वले त्यो निर्णय मान्नुपर्ने बताएका छन्।
सुदूरपश्चिममा कांग्रेसका करिब ३९० सक्रिय महाधिवेशन प्रतिनिधि रहेको बताइएको छ। तीमध्ये १५० देखि १६० जना प्रतिनिधि काठमाडौंमा उपस्थित हुने बडुवालको दाबी छ।
यसैबीच, सुदूरपश्चिमका केही जिल्ला सभापति र प्रदेश नेताहरूले निर्वाचन नजिक भएकाले विशेष महाधिवेशन उपयुक्त नहुने भन्दै सहभागी नहुने बताएका छन्। केही नेताले स्वास्थ्य र निर्वाचनको संवेदनशीलतालाई कारण देखाएका छन्।
