नेपाली कांग्रेसभित्र चलिरहेको विवादलाई निर्वाचन आयोगले नजिकबाट हेरिरहेको जनाएको छ। २५ पुसमा भएको प्रेस ब्रिफिङमा आयोगले यो विषय दलको आन्तरिक मामिला भए पनि अवस्था निगरानीमा राखिएको बताएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको विवाद आन्तरिक विषय भएकाले आयोग तत्कालै हस्तक्षेप नगर्ने बताए। तर आवश्यक परेमा परिस्थितिलाई ध्यानपूर्वक हेर्ने उनले स्पष्ट पारे।
कांग्रेसभित्र अहिले नियमित महाधिवेशन र विशेष महाधिवेशन गर्ने विषयमा मतभेद चर्किएको छ। कार्यसम्पादन समिति बैठकको बहुमतले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ। तर विशेष महाधिवेशन पक्षधरले भने २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएका छन्।
यो विवाद निर्वाचन आयोगसम्म पुगेको भए पनि आयोगले हालसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन। आयोगले यसलाई कांग्रेसको आन्तरिक लोकतन्त्रसँग जोडिएको विषयका रूपमा हेरेको जनाएको छ।
