सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षक ५२ वर्षीय रामेश्वर महतो कोइरीको पुस १९ गते जंगलमै हत्या भएको छ। उनी वन संरक्षणको क्रममा मारिएकाले सरोकारवालाले उनलाई ‘संरक्षण शहीद’ घोषणा गर्नुपर्ने माग गरेका छन्।

ईश्वरपुर नगरपालिका–२, राइटरखोर टोलका रामेश्वर परियोजनामा ज्यालादारी चौकीदारका रूपमा काम गर्दै आएका थिए। पारिवारिक स्रोतका अनुसार बिहान करिब ५ बजे जंगलमा रूख काटिएको सूचना पाएपछि उनी साइकल लिएर गस्तीमा निस्किएका थिए। तर उनी घर फर्किएनन्।
परिवारले फोन सम्पर्क गर्दा सुरुमा फोन लागे पनि नउठेपछि पछि स्विच अफ भयो। खोजतलास गर्ने क्रममा भक्तिपुर प्लट नं. १० को जंगलमा वनमाराको झाडीभित्र उनको शव फेला परेको थियो। शरीर रगतले लतपतिएको अवस्थामा थियो र टाउको छुट्टिएको थियो।
प्रहरीले घटनास्थल नजिकै रगत लागेको बञ्चरो र कालो चप्पलको जोडा फेला पारेको थियो। अनुसन्धान गर्दा ती चप्पल स्थानीय रामवली महतोको भएको पुष्टि भयो। उनी जंगलमा दाउरा काट्दा सोही बञ्चरो प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन्।
प्रहरीले रामवलीलाई घरमै फेला पारी पक्राउ गर्यो। उनको कोठाबाट रगतको छिटा देखिने ज्याकेट र जिन्स पाइन्ट समेत बरामद गरिएको छ। पक्राउका बेला उनी गाँजाको नशामा रहेको प्रहरी स्रोतले जनाएको छ।
अनुसन्धान अनुसार रामवली पटक–पटक जंगलबाट टिक र मसलाको रूख चोरी गर्दै आएका थिए। रामेश्वरले यसअघि उनलाई सम्झाइबुझाइ गर्नुका साथै दाउरा समेत बरामद गरेका थिए। घटनाभन्दा ४–५ दिनअघि रामवलीले रामेश्वरलाई मार्ने धम्की दिएको तथ्य पनि खुलेको छ।
प्रहरीका अनुसार पुरानो रिसइबीकै कारण हत्या भएको देखिन्छ। घटनामा हालसम्म एक्लै रामवलीको संलग्नता देखिएको छ। रगत लागेको कपडाको परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ।
रामवलीलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
