१७ असोज, काठमाडौं । बीपी राजमार्गको नागबेली बाटो हुँदै यात्रा गर्नेहरूले एउटा चित्र पक्कै सम्झेको हुनुपर्छ, सिसै–सिसाको लम्बेतान लस्कर । राजमार्गको भित्ताभरि किला ठोकेर झुन्ड्याइएका ऐनाको बीच भागमा छ, सेतीदेवी मन्दिर । त्यही सेतेदेवी मन्दिरको उकालोबाट देखिन्छ, सुनकोसी किनारको समथर भू–भागमा झुरुप्प मिलेर बसेको बस्ती । होटल, रिसोर्ट र बजारको चहलपहल । करोडौं खर्च गरेर बनाइएका संरचना, स्वीमिङ पुलसहितका सुविधा सम्पन्न रिसोर्ट । सुनकोसीका छालसँगै र्याफ्टिङको मज्जा । आन्तरिक र वाह्य पर्यटकको रोजाइ ।सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट पछिल्लो समय यही रूपमा चिनिँदै थियो । सुनकोसीको शान्त बेगसँग आनन्दित भएर बसेको मुलकोटको अहिलेको अवस्था भने ठिक विपरीत छ । पानीको फोहरासहितको स्वीमिङ पुल, गार्डेन, पार्क अहिले मरुभूमिमा परिणत भएका छन् ।संघीय राजधानी काठमाडौंबाट ९० किलो मिटरको दुरीमा रहेको मुलकोट एक रात बास बसेर फर्कने (वान नाइट स्टे) आन्तरिक पर्यटक र वाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै थियो । दिन दुगुना रात चौगुनाको हिसाब द्रुत गतिमा ‘पर्यटकीय हब’ बन्दै गरेको मुलकोटको अहिलेको अवस्था भने विकराल छ, अझ भनौं बाढीको संकटै–संकटबाट गुज्रेको छ ।गत शुक्रबार र शनिबारको भारी वर्षासँगै आएको बाढीले मुलकोटको हराभरालाई तहसनहस बनाएको छ । होटल, रिसोर्ट, बजार, स्कुल, पुल, स्थानीयका घरहरूमा बाढीले वितण्डा मच्चाएको छ । शान्त र आकर्षक मुलकोट अहिले विपत्तिसँग जुधिरहेको छ ।सुनकोसीको बाढीले सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट बजार, सित्खा, खैरनी, रातमाटा डुबान परेर करोडौंको क्षति भएको छ । मुलकोटमा रहेको पशुपति आधारभूत विद्यालयसँगै दर्जनौं होटल तथा रिसोर्ट र बस्तीहरू डुबानमा परे ।राति नै बस्तीमा सुनकोसी नदी प्रवेश गरेपछि झनै अर्को विपत्ति आइलाग्यो । स्थानीयले भागेर बल्लतल्ल ज्यान त जोगाए, तर सामान भने जोगाउन सकेनन् । जसकारण पनि मुलकोटले झन् ठूलो क्षति बेहोर्नु पर्यो ।‘मुलकोट बजार र आसपासका ६० घर डुबानमा परे । त्यहाँ भएका सरसामान बाढीसँगै बगे । केही पानीमा डुबेर नष्ट भए, जसकारण झन् ठूलो क्षति बेहोर्नु पर्यो,’ उनले भनिन् ।मुलकोटमा बाढीले कटान र घरहरू बगाउने भन्दा पनि डुबानका कारण धरै क्षति भएको छ । भुइँ तलामा ६/७ फिटसम्म बालुवा थुप्रिएको स्थानीय बताउँछन् ।मुलकोटको स्कुलमा पनि ठूलो क्षति पुगेको छ । जस्ताको छानो मुनिको केही भाग मात्रै देखिन्छ । स्कुल नजिकै रहेको रिसोर्ट र अन्य घर डुबानमा पर्दा ठूलो क्षति भएको छ । सुनकोसीको तीर नजिकै स्कुल बनाइएको थियो । अहिले त्यो स्कुल कोसीले पुरेको छ । त्यहाँ स्कुल बनाउनु नै गलत रहेको मुलकोटकै स्थानीय बताउँछन् ।
‘पर्यटकीय हब’ मुलकोट माथि बाढीको बज्रपात
२०८१ आश्विन १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Goji Media House मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd