
आइतबारदेखि मात्रै मौसममा सुधार
केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली शनिबारसम्म रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनचापीय वायुको प्रभाव कमजोर भई आइतबारदेखि मात्र मौसममा सुधार हुनेछ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यूनचापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेषगरी मुलुकको पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय भएको बताए। ‘हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ’, उनले भने, ‘भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि सुधार हुनेछ।’
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाइ यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना छ।