
पक्राउ परे सोनाम र सुदिप ११ तोला सुनसहित
११ तोला सुनसहित २ जनालाई काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
सोमबार रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको नरदेविबाट दुई जनालाई पक्राउ गरेको हो।
उक्त सुनको हाल बजार भाउ १३ लाख ९१ हजार १ सय ६० हुन आउने प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका-११ का सुदिप बिक र गोरखाको चुमनुब्री गाउँपालिका-६ का सोनाम दोर्जे लामा छन्।
उनीहरुको साथबाट १२७ दशमलव ७ ग्राम अर्थात् ११ तोला अवैध सुनसहित नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले जानकारी दिए।
थप अनुसन्धानका लागि दुवैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।