
आज चिनिया समकक्षी वाङ यीलाई भेट्दै परराष्ट्रमन्त्री श्रेष्ठले
चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै छन्।
बेइजिङमा हुने यीसँगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ।
हिजो बिहान बेइजिङ पुगेका मन्त्री श्रेष्ठले हिजो नै चिनियाँ जनराजनीतिक सल्लाहकार सभा (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिङ र चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यहरूसँग भेटवार्ता गरेका थिए। ९ दिने भ्रमणकै क्रममा उनी छोङछिङ, तिब्बत र सिचुआन प्रान्त पनि जाने कार्यक्रम छ।
त्यस्तै बीरआरआई कार्यान्वयन तथा दुई देशबीच हुनसक्ने अन्य सहकार्यका विषयमा पनि छलफल हुने जनाइएको छ। मन्त्री श्रेष्ठले आज नै नेपाली दूतावासमा आयोजना हुने लगानीसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नेछन्। सो अवसरमा उनले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्ने छन्।