रात्रिबसमा एकद्वार प्रणाली, झापाबाट काठमाडौं जाने

२०८० चैत्र २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रात्रिबसमा एकद्वार प्रणाली, झापाबाट काठमाडौं जाने

 

 

झापा :  काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौं यात्रु बोक्ने रात्रि बसका सञ्चालकले ‘संयुक्त बुकिङ काउण्टर’ राखेर पूर्वी नेपालको यातायात प्रस्थानविन्दु एकद्वार प्रणाली शुरु गरेका छन्।

उनका अनुसार झापाका मुख्य चार यातायात कम्पनीले गठन गरेको मेची संयुक्त यातायात व्यवस्थापन समितिमार्फत बिहीबारदेखि काठमाडौं जाने रात्रि बस सेवामा एकद्वार प्रणाली लागु गरिएको हो। पहिलो दिन काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, बुधबारे र विर्तामोडका २० रात्रिबस संयुक्त बुकिङ काउण्टरमार्फत यात्रु बोकेर काठमाडौं गएका छन्।

एक दशकअघि सरकारले ‘सिण्डिकेट प्रणाली’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउण्टर सञ्चालन हुँदै आएको थियो। कम्पनीपिच्छे बुकिङ काउण्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो। यस्तो अवस्थालाई अन्त्य गर्न यातायात व्यवसायीले लगानी सुरक्षा र यात्रु व्यवस्थापनमा सहजता ल्याउन आपसी सहमतिमा एकद्वार प्रणाली शुरु गरेको पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले जानकारी दिए।

संयुक्त व्यवस्थापन समितिमा आबद्ध भएका कम्पनीमा पूर्वी मेची बस व्यवसायी प्रालि, पूर्वी हिमाल यातायात प्रालि, मेची यातायात एण्ड अटो प्रालि र मेची सुपर यातायात प्रालि रहेका छन्। काठमाडौंमा रहेका अन्य कम्पनी समेत एकद्वार प्रणालीमा आउने तयारीमा रहेको उनले दाबी गरे।

यो प्रणाली लागु भएपछि यात्रुले जुनसुकै बसको पनि एउटै काउण्टरबाट टिकट काट्न पाउने छन् भने यातायात व्यवसायीले आफ्ना गाडी पूर्वनिर्धारित आलोपालो मिलाएबमोजिम सञ्चालन गर्नुपर्नेछ। आलोपालोका लागि गाडी संयुक्त व्यवस्थापन समितिमा आबद्ध भएको हुनुपर्ने छ। मेचीनगर यातायात व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले एकद्वार प्रणालीमार्फत एउटै बुकिङ काउण्टरबाट यात्रुले झञ्झटविनै सेवा पाउने बताए।

‘हामी यात्रुको तानातान नहोस् र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य होस् भन्ने चाहन्छौँ’, उनले भने, ‘हिजो सिन्डिकेट प्रथा भनेर संयुक्त समिति नै खारेज गराइयो। यो सिन्डिकेट होइन, यातायातलाई सही ढंगले व्यवस्थापन गर्ने आलोपालो पद्धति हो। यसबाट यात्रुलाई झन सुविधा हुन्छ।’ दर्जनौँ संख्यामा खुलेका बुकिङ काउण्टरका प्रतिनिधिले बसपार्कमै गएर यात्रु तानातान गर्ने विकृतिका कारण पूर्वी नाका नै बदनाम भइरहेको जनाउँदै यातायातलाई चुस्त र मर्यादित बनाउनु स्वागतयोग्य कार्य भएको उनको भनाइ छ।

पर्यटन व्यवसायी नीरबहादुर कार्कीले यात्रुलाई गाडी छान्ने स्वतन्त्रता हनन गर\न नहुने भन्दै पुरानै गाडीमा जबर्जस्ती टिकट काट्न बाध्य पार्ने अवस्था ल्याउन नहुने बताए। मुलुककै ठूलो यातायात सञ्जाल भएको तत्कालीन मेची बस व्यवसायी संघले १० वर्षअघिसम्म राजधानी जाने रात्रि बसको एकद्वार प्रणाली सञ्चालन गर्दै आएको थियो। चर्को विरोध भएपछि एकद्वार प्रणाली सरकारले खारेज गरेको थियो। तर, अहिले व्यवसायी नै एकद्वार प्रणालीको आवश्यकतामा जोड दिइरहेका छन्।

तायायात क्षेत्रमा निजी क्षेत्रको पहलमा एकद्वार प्रणाली लागू गरिएकोमा सरोकारवाला अन्य व्यवसायीले मिश्रित प्रतिक्रिया जनाएका छन्। होटेल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले यात्रु र सवारी साधन बढ्दै गए पनि उचित व्यवस्थापन हुन नसकिरहेको अवस्थामा एकद्वार प्रणाली आउनु सराहनीय भएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय