
‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा’ नारासहित विश्व मिर्गौला दिवस मनाइयो
‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा’ नारासहित विश्व मिर्गौला दिवस नेपालमा पनि मनाइएको छ।
दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतनामूलक र्याली निकालिएको छ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजना तथा रोटरी डिष्ट्रिक ३२९२ को सहकार्यमा बृहत् सचेतनामूलक र्याली निकालिएको हो।
बुटवल पुष्पलाल पार्कबाट निकालिएको र्याली रामनगरस्थित बुटवल मण्डपमा पुगेर समापन गरिएको थियो।
र्याली समापनको अवसरमा बोल्दै बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. रजत कायस्थले अन्य रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको मृत्यु हुने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताए।
‘नेपालमा ३ करोड जनसंख्यामध्ये ३० लाखमा कुनै न कुनै प्रकारको मिर्गौलाको समस्या छ, कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको समस्या हुनु डरलाग्दो तथ्यांक हो,’ उनले भने।
सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्याउनुपर्ने उनले बताए।
‘मानिसहरूमा खानपानको नियन्त्रण, नियमित व्यायाम, नियमित स्वास्थ्य जाँच गर्ने बानी बसाल्ने गरी अभियान चलाउनुपर्छ,’ उनले भने।
‘साइलेन्ट किलरका रूपमा चिनिने मिर्गौला रोगको प्रमुख कारण नै उच्च रक्तचाप र मधुमेह हो, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न सके थोरै भए पनि मिर्गौलाको समस्याबाट जोगिन सकिन्छ,’ उनले भने।
डा. गौतमले नियमित रूपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा व्यक्तिको तौल नियन्त्रण हुने र यसबाट उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिने बताए।
डा.कायस्थका अनुसार नेपालमा बर्सेनि करिब तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ।
हाल देशमा करिब पाँच हजार जनाको निःशुल्क तथा एक हजार जनाको सशुल्क हेमोडाइलाइसिस र तीन सय जनाको पेरिटोनियल डायलासिस भइरहेको छ।
देशमा करिब दुई हजार जनाले मिर्गौला प्रत्यारोपण गरी जीवन बिताइरहेका छन्।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले मधुमेह र रक्तचापका कारण मिर्गौलामा पनि समस्या देखिने गरेको बताए।