
कांग्रेसले माग्यो प्रधानमन्त्रीको धारणा, रविलाई गृहमन्त्री बनाएको बारे
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘विवादमा मुछिएका’ सांसदलाई गृहमन्त्री बनाएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग जबाफ मागेको छ। बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पाण्डेले अनुसन्धानको दायरामा भएका व्यक्ति गृहमन्त्री भएको भन्दै यसले सरकारप्रति गम्भीर नैतिक प्रश्न उठेको बताए।
उनले सहकारी पीडितहरु आन्दोलनमा उत्रिएको भन्दै आरोपित व्यक्ति नै गृहमन्त्री हुँदा अनुसन्धानमा प्रभावित हुने बताए। गृहमन्त्री रवि लामिछाने लगानी गर्न नमिल्ने संस्थामा सहकारीको लगानी गरिएको, नमिल्ने शीर्षकमा कर्जा दिएको र सदस्य नभएको व्यक्तिले सहकारीबाट ऋण लिएको सघन आरोपमा घेरिएका भन्दै यस्तो प्रकृतिका अन्य दोषीलाई कसरी कारबाही गर्नुहुन्छ? भनी उनले प्रश्नसमेत गरे।
सांसद पाण्डेले पीडितलाई न्याय दिने गुरुत्वर अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभाषमा प्रधानमन्त्रीको धारणा के हो? भनेर सरकारको धारणा माग गरे।
‘आर्थिक निराशा र असुरक्षा चुलिएको वर्तमान अवस्थामा तीन खम्बे अर्थनीतिको तुलनात्मक रूपमा कम मक्किनुपर्ने सहकारी क्षेत्र नै उठ्नै नसक्ने गरी थला पर्नु सामान्य विषय होइन। आफ्नो पेट काटेर थोरै थोरै बचत गर्दै आएका करिब पौने करोड शेयर सदस्यको पसिनाको केही ठगहरूले कुम्ल्याउँदाको परिणाम देशैभर अविश्वास, असुरक्षा र आक्रोश चुलिएको छ,’ उनले भने।
सहकारीको आदर्श विपरित गर्न नहुने संस्थामा लगानी, दिनु नहुने शिर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने व्यक्तिले, पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ?’
उनले प्रधानमन्त्रीले शीघ्र जवाफ नदिएमा नेपाली कांग्रेस संसदमा कठोरतापूर्वक प्रस्तुत हुने बताए।