हत्या गरेर गाडेको अवस्थामा काठमाडौँको तारे भिरमा, किशोरीको शव फेला

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हत्या गरेर गाडेको अवस्थामा काठमाडौँको तारे भिरमा, किशोरीको शव फेला

 

 

काठमाडौंमा एक जना किशोरीको शव तारे भिरमा हत्या गरेर पुरेको  अवस्थामा फेला परेको छ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए। उक्त हात फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

‘हातमात्रै देखिएको शरीर गाडिएको अवस्‍थामा फेला परेको खबरपछि प्रहरी खटिएको थियो,’ एसपी अधिकारीले भने।

त्यस राति प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो।

फागुन २५ गते शुक्रबार बिहान ८ बजे परिसर र प्रहरी वृत्त बौद्धबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको थियो। विशेषज्ञ तथा फरेन्सिक डाक्टर सहितको टोली पनि खटिएको थियो। गाडिएको शव निकाल्दा मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने १८ वर्षीया सुष्मा लामा रहेको खुलेको थियो।

उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन्। उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए।

त्यसपछि हुलिया परिपत्र, टेलिफोन, कल-डिटेल, विश्लेषण गरिएको थियो।

त्यस्तै सम्भावित स्थानहरूमा खोजी गरिरहेको बेलामा शव फेला परेको एसपी अधिकारीले बताए।

शव फेला परेपछि आमा लुच्ची तामाङलाई घटनास्थलमा लगेर सनाखत गरिएको थियो।

शव टिचिङ अस्पतालमा पोष्टमर्टम भइसकेको छ।

प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान भइरहेको छ।

घरबाट माघ २२ मा  ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट शव उत्खनन् गरिएको काठमाडौँका एसपी अधिकारीले जानकारी दिए ।

उक्त घटनामा प्रहरीले कसैलाई पक्राउ गरिसकेको भने छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार