काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन्।
साथै कांग्रेसले फागुन ३० को प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति हुन पनि निर्देशन दिएको छ। प्रचण्डले सत्ता समीकरण बदलेर एमालेसँग सत्ता सहकार्य थालेपछि सरकारबाट बाहिरिएर कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।
प्रधानमन्त्रीलाई बहुमतका लागि १३८ सांसद आवश्यक पर्ने भए तापनि हालको गठबन्धनमा सत्तापक्षसँग हाल १५० भन्दा बढी सांसद छन्।
प्रतिनिधिसभामा कांग्रेसका मतदान गर्न पाउने सांसद ८७ छन्। ८८ जना सांसद भए पनि एकजना अख्तियारको मुद्दा परेर हाल निलम्बनमा छन्।
कांग्रेसले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र मत लिनैपर्ने व्यवस्था छ। त्यसै व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते सदनबाट विश्वासको मत लिने कार्यतालिका छ।