सुकेर मर्न थाले सुन्तलाका बोट,आम्दानी पनि घट्यो

२०८० फाल्गुन २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुकेर मर्न थाले सुन्तलाका बोट,आम्दानी पनि घट्यो

 

 

इलाम : गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाबाट यो वर्ष एक लाख रुपैयाँ मात्र उठ्यो। बोट धमाधम मरेका कारण सुन्तला नफलेपछि उनको आम्दानी घटेको हो।

‘विगतका वर्षहरूमा बर्सेनी सुन्तला बिक्रीबाट दुईदेखि दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन’, उनले भने ‘बल्लतल्ल एक लाख आम्दानी गरियो। उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो।’

अधिकारीको बगैँचामा पहिले १५० बोटसम्म थियो अहिले यो सङ्ख्या घटेर  ७० मा सीतित भएको  छ। रोगको पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन्। बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तला फलेन। फलेका दाना पनि साना र स्वाद नभएको हुन थालेको उनको गुनासो छ।

शुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो। सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताए। रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उनी बताउँछन्।

‘रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ, विज्ञको टोली आयो’, उनले भने, ‘तर टोलीले स्थलगतरूपमा अनुगमन गरे पनि रोग पत्ता लागेन। के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन।’

किसान अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ। किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए। वार्षिक दुई लाखको सुन्तला बेच्ने गरेका खनालको बगानमा यो वर्ष एक दाना पनि सुन्तला फलेन। ‘मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाको बोट थियो, सिजनमा दुई लाखसम्म आम्दानी दिन्थ्यो’, उनले भने, ‘तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यो पटक बेचिएन।’

मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा रोगले सङ्क्रमण गर्न थालेपछि यहाँका किसान वैकल्पिक खेतीको खोजी गर्न बाध्य छन्। सलकपुरका २५० किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका थिए। रोगको सङ्क्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तलाखेती गरिरहेका छन्। \

मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिकरूपमा सुन्तलाखेती गरिँदै आएको छ।

कुनै वेला सुन्तालको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले सङ्क्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय