सामान बरामद भन्सार छलेर ल्याइएका
रूपन्देही :प्रहरीले भारतबाट भन्सार छली ल्याइएको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले बुधबार कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको हो।
प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ कालिदहबाट १४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा सामान बरामद गरेको उनले जानकारी दिए ।
यस्तै भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले मङ्गलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी दुई लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो।
प्रहरीले बरामद गरेको सामानमा फागुपूर्णिमाका लागि आवश्यक पर्ने पिचकारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन्।
बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।
बरामद गरिएका चार मोटरसाइकलमध्ये एक भारतीय नम्बर प्लेट र तीन नेपाली नम्बर प्लेटका छन्। त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाएको भट्टले बताए।