उदयपुर : चौदण्डीगढी नगरपालिकास्थित सिद्धिपुर गाउँबाट यो वर्ष दुई करोड रुपैयाँको बेसार बिक्री भएको छ।
कृषक इन्द्रबहादुर मगरले अनुसार नयाँ आधुनिक प्रजाति ‘सुगन्धा’ बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको जानकारी दिए। एक घरले वार्षिक झण्डै तीन लाखरुपैयाँभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको उनले बताए।
सिद्धिपुरवासीले २०५० सालमै व्यावसायिक बेसार खेती थालेका हुन्। कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरूपमा नै बेसार खेती गरिरहेको बताए। स्थानीयवासी देवबहादुर मगरका अनुसार २०६० सालदेखि सबै गाउँलेले व्यावसायिकरूपमा नै बेसार खेती थालेका थिए।
कृषक सन्तबहादुर मगरले मङ्सिर पुस महिनातिर नै विराटनगरका व्यापारीले खरिद गर्न आउने गरेको जानकारी दिए । पछिल्लो समय सिद्धिपुरवासीको आर्थिक आम्दानीको स्रोतनै बेसार भएको चौदण्डी-६ की वडासदस्य देवी मगरले बताइन् ।
जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ। केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रुपमा सिद्धिपुर क्षेत्र रहेको जानकारी दिइन्।