राखियो सीमामा राष्ट्रिय झण्डा, स्थानीयद्वारा स्वागत

२०८० फाल्गुन १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राखियो सीमामा राष्ट्रिय झण्डा, स्थानीयद्वारा स्वागत

 

 

काठमाडौँ : भारतसँगको सीमा जोडिएका भूभागमा जिल्ला प्रशासन कार्यालय सुनसरीले  राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो। कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रूपमा शुरुवात गरिएको अभियानलाई नाकाका सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ। नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकून् भन्ने उद्देश्यले सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।

आचार्यले भारतसँग सीमा जोडिएको सुनसरीतर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपी सहितका सुरक्षानिकायका पोष्ट र खुला रूपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने बताए। प्रजिअ आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वास समेत व्यक्त गरे।

सीमावासी सादा पोशाकका पहरेदार भएकाले सीमा सुरक्षा र संरक्षणका सवालमा समेत राष्ट्रिय झण्डा अभियान सार्थक हुने उनको विश्वास छ।

प्रजिअ आचार्यले भने, ‘सीमाक्षेत्रको अवस्थासँगै स्थानीयको समस्या र गुनासो बुझ्न पैदल यात्रामा निस्किएका थियौँ। सो क्रममा भारतसँगको खुला नाका क्षेत्रमा नेपाली भूभाग कहाँसम्म पर्छ भनेर ठम्याउन जो कोहीले नसक्ने अवस्था देखियो। राष्ट्र र राष्ट्रियाताको हितमा आवश्यकता समेत महसुस भई राष्ट्रिय झण्डा फहराउने अभियानमा जुटेका हौँ।’

नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाइएको जनाएको छ। नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत जनाएको छ।

नाका क्षेत्रमा भारतीय पक्षले यस अघिबाट नै आफ्नो क्षेत्र लक्षित झकिझकाउ पार्ने र आफ्नो देशको उपस्थिति दर्शाउने क्रियाकलाप गर्दै आएको छ। नेपालतर्फको सुनसरीको भूभागमा भने राष्ट्रिय झण्डा अभियान सुनसरी प्रशासनको पहिलो कदम हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय