
अमेरिकी स्कुल र सिन्धुपाल्चोकको थाङपाल भ्याली विद्यालयबीच भगिनी सम्बन्ध
सिन्धुपाल्चोक : थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका-४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित यू-३२ विद्यालयबीच भगिनी सम्बन्ध स्थापना भएको छ।
हेल्प संस्थाको पहलमा विद्यालयमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो। सम्झौतामा यू-३२ का प्रिन्सिपल स्टिवन डेलिङरपेट र थाङपाल भ्याली माविका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गरे। पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो सम्बन्धले थप बल पुग्ने विश्वास व्यक्त गरे।
पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि चारवटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय हो ।
बागमती प्रदेशभित्रको थाङपाल भ्याली मावि दोस्रो ठूलो विद्यालय हो। पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा सो विद्यालय बनाइएको हो । विद्यालयमा हाल ८०० भन्दा बढी विद्यार्थी र ४३ जना कर्मचारी सदस्य छन् ।
यू-३२, मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित एक माध्यमिक तथा उच्च शिक्षा अध्यन गराउने एक शैक्षिक संस्था हो जहाँ करिब ७२५ विद्यार्थी अध्यनरत छन् । यू-३२ समावेशी सिकाइ वातावरण, सामुदायिक सहयोग, विद्यार्थीको नेतृत्व, रचनात्मक तथा चुनौतीपूर्ण नयाँ पहल लिने इच्छुकता आदिले गर्दा अन्यभन्दा पृथक रहेको प्रिन्सिपल डेलिङरपेटले जानकारी दिए।