काठमाडौं : मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी सनाखत मृतक तीनजनाकै परिचय खुलेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका- २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र बोलेरो चालक विर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेल छन्। दुर्घटनामा परी हरि खनाल र गायत्री भट्टराई गम्भीर घाइते छन्। घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको टlपरले ठक्कर दिँदा दुर्घटना भएको थियो। टिपरले बोलेरोलाई ठक्कर दिनु अघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको थियो।
प्रहरीले टिपर चालक सुन्दरहरैचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।