
एकजनाको मृत्यु माटोको ढिस्कोले पुरिएर
बाजुरा : जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा बुधबार माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कालिकोट जिल्ला पलाता गाउँपालिका–२ का १८ वर्षीया विरेन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जगन्नाथ गाउँपालिका काप्रीका आफ्नै भिनाजुको घरको जग खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिँदा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसीं भण्डारीले जानकारी दिए।
स्थानीय दिर्घ सार्कीको घर निर्माणका लागि जग खनि रहेको अवस्थामा एक्कासी माथिबाट माटोको ढिस्कोले पुरिएर सार्कीको मृत्यु भएको हो। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।