व्‍यावसायिक कम्पलेक्स बनाउँदै उपमहानगर हेटौँडा बसपार्कमा

२०८० फाल्गुन १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

व्‍यावसायिक कम्पलेक्स बनाउँदै उपमहानगर हेटौँडा बसपार्कमा

 

 

हेटौंडा : हेटौडा उपमहानगरपालिकाले हेटौंडा–१० मा कम्प्लेक्स निर्माणका लागि तयार भएको करिब ६६ करोड विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबारको कार्यपालिका हेटौंडा उपमहानगरको योजनाअन्तर्गत नगरविकास ऋण लिई निर्माण गर्न कम्प्लेक्सको डिपिआर निर्णय गरेको हो।

कार्यपालिका बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नगरको गौरवको आयोजनाका रूपमा कम्प्लेक्स निर्माणलाई अघि सारेको जनाइएको छ। कार्यतालिका अनुसार बुधबार बिहान बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिएको हो। कार्यपालिका बैठकले कार्यपालिका बैठकले १४ वटा बुँदामा विभिन्न निर्णय गरेको छ।

अघिल्लो कार्यपालिका बैठकमा भएका निर्णय कार्यान्वयनमा समीक्षा गर्नुका साथै उपमहानगर कार्यपालिका बैठक आवश्यकताअनुसार प्रत्यक्ष प्रसारण गर्ने, प्रवक्तामार्फत निर्णय सार्वजनिक गर्ने, सार्वजनिक सुनुवाइ, नगर स्थापना दिवस, नगर सभालगायतका विशेष महत्वका कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरिएको छ।

उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने क्रममा हालसम्म भएको प्रगतिको समीक्षा गरी बालबालिकाको लागि पञ्चवर्षीय आवधिक योजना २०८०-८१ देखि २०८४-८५ सम्मको वडा नं. १० र १५ को स्वीकृत गर्ने निर्णय गरेको नगरप्रवक्ता सबिन न्यौपानेले जानकारी दिए।

उपमहानगरको गौरवको योजनाअन्तर्गत नगरविकास कोषसँग ऋण लिई हेटौंडा–१० मा हेटौंडा कम्प्लेक्स निर्माणको लागि तयार भएको करिब ६६ करोडको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्ने, सहरी विकास मन्त्रालयबाट सघन सहरी विकास कार्यक्रमअन्तर्गत प्राप्त २५ करोड बराबरको विभिन्न परि योजना कार्यान्वयन गर्न सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनबाट प्राप्त विस्तृत परियोजना प्रतिवदेन संशोधन गर्नको लागि अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता न्यौपानेले बताए।

उपमहानगरको सबै वडामा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने परियोजनाको सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्नुपर्ने भएको हुँदा वडा कार्यालयसँग त्यस्ता परियोजना सात दिनभित्र माग गरी विस्तृत परियोजना प्रतिवेदन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।

उपमहानगर द्वारा सञ्चालित आयोजना तथा कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न कारणले सुरु लागत अनुमान भन्दा फरक भई भेरिएसन भएमा त्यस्तो भेरिएसनको अध्ययन गरी प्रतिवेदन पेश गर्न हेटौंडा–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जन संयोजक, हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा–८ का वडाअध्यक्ष रामकृष्ण थापा सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

खानेपानी व्यवस्थापन वोर्डले उपमहानगरको साझेदारीमा सञ्चालन भएका आयोजनाबाहेक उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको कार्यान्वयन अवस्थाको अध्ययन गरेबापत सम्झौता बमोजिमको ३० प्रतिशतमा हुन आउने रकम २ लाख ६१ हजार रुपैयाँ वोर्डलाई भुक्तानी दिने निर्णय गरेको छ। उपमहानगरमा संघीय सरकार र प्रदेश सरकारबाट सशर्त, समपूरक, विशेष अनुदानमार्फत प्राप्त आयोजना चालु आर्थिक वर्षमा समयमै सम्पन्न गर्न तत्काल सम्झौता गरी प्राथमिकताका साथ सञ्चालन गर्ने निर्णय भएको छ।

उपमहानगरको आन्तरिक राजस्व वृद्धिका लागि राप्तीलगायत नदीक्षेत्रको विभिन्न स्थानमा नदीजन्य पदार्थ उत्खनन गर्ने कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण गरी स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाउने, वडा नं. १९ को कुवापानी सिरानचोक खानेपानी योजनामा सोलार पम्पीङ प्रविधि जडान गर्न नवीकरणीय ऊर्जामा संघीय सशर्तबाट प्राप्त ८ लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार