
कुहिन थाल्यो एक लाख ७३ हजार केजी रक्तचन्दन भारतले नलग्दा
काठमाडौं : नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रिपरिषदबाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ ।
बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन ।
भारतबाट ल्याएर नेपाल हुँदै चीन र तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा यो रक्तचन्दन नेपालमा नियन्त्रणमा लिइएको हो। २०६४\६५ देखि मन्त्रिपरिषदबाट निर्णय गरी ५४ हजार ११२ किलो रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरिसकेको छ तर ३६ हजार ९२८ किलो मात्र फिर्ता गरियो।
त्यसै गरी १२ फागुन २०७१ मा बसेको मन्त्रिपरिषदबाट बैठकले २७ हजार १६६ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । २०७६ पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन सकेको छैन।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले यसरी थन्किएर रहेको रक्तचन्दन सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङमा राखिएको छ । बरामद गरेर राखिएको रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ।
भारतले रक्तचन्दन नलिँदा काठमाडौंलगायत अरू जिल्ला सदरमुकाममा रहेको महत्वपूर्ण जग्गा ओगट्नुका साथै सुरक्षाको भार थपिएको छ।