बैंकविरूद्ध हमला अर्थतन्त्र समाप्त पार्न गरिरहेका छन्: ओली

२०८० फाल्गुन ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैंकविरूद्ध हमला अर्थतन्त्र समाप्त पार्न गरिरहेका छन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको बताएका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्।

अहिले केहीले अभियान चालेर देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला गरिरहेको बताएका छन्। नियोजित तरिकाले हमला गरी बैंकहरूलाई डुबाउन खोजिएको उनको भनाइ थियो।

यसरी बैंक डुबाएर देशमा भइरहेका आयोजनाहरू पनि कोल्याप्स पार्ने प्रयास भइरहेको उनले बताए।

‘एउटा अभियान छ फेरि, देशको अर्थतन्त्र समाप्त पार्नका लागि बैंकविरूद्धको हमला गर्ने। एकदमै नियोजित ढंगले बैंकविरूद्ध हमला, ताकि मानिसहरूको निक्षेप पनि डुबोस्, बैंकहरू पनि डुबुन् र सबै आयोजनाहरू बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने। त्यस प्रकारका प्रयासहरू भएका छन्,’ उनले भने।

त्यसविरूद्ध लड्न सरकारसँग कुनै सोँच नभएको पनि उनले बताएका छन्|

यो पनि: केपी ओलीले नबुझेको बैंकिङ

गत माघमा एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले बैंकिङ प्रणालीबारे टिप्पणी गरेका थिए।

उनले बैंकले ऋणीसँग सहमति नगरी ब्याजदर बढाएको; ब्याजको पनि स्याज जोडेर मिटरब्याजी जस्तो भएको; हुनेखानेलाई धितोबिनै ऋण दिएको; सस्तो पैसा पाउँदा पनि महँगोमा कर्जा दिएको लगायत आरोप लगाएका थिए।

बैंक र बैंकिङ प्रणालीबारे यसअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अझै उग्र र अशिष्ट भाषामा प्रतिक्रिया दिँदै आएका थिए। प्रसाईं आफूले लिएको ऋण बैंकहरूले मिनाहा गरिदिनुपर्ने सम्मको माग राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय