
कांग्रेस महासमिति बैठक :नीति प्रस्ताव पेस उपसभापति खड्काद्वारा
काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा नीति प्रस्ताव पेस भएको छ। सोमबार उद्धघाटन भई आज सुरु भएको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका हुन्।
उपसभापति खड्काले केन्द्रीय सदस्यहरूका सुझाव समेटेर अन्तिम रूप दिएका नीति प्रस्तावलाई महासमितिमा पेस गरेका हुन्। उक्त प्रस्ताव गत बिहीबार केन्द्रीय समितिमा पनि पेश गरेका थिए।
कांग्रेसले २०७८ मंसिरमा १४औं महाधिवेशन गर्दा नीति अधिवेशन नगरी नेतृत्व मात्रै चयन गरेको थियो। महाधिवेशनको दुई वर्ष नाघिसकेको बेला नीति अधिवेशनसमेतको काम गर्ने गरी महासमिति बैठक सुरु भएको हो।
महासमिति बैठकमा मंगलबार कुल पाँच वटा प्रतिवेदन पेस हुनेछन्। खड्काले नीति प्रस्ताव पेश गरेपछि महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन र अर्थमन्त्रीसमेत रहेका पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नेछन्।