काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको दाबी गरेका छन्।
शुक्रवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन्। उनले केही सञ्चारमाध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दा विवाद बढेको भन्ने आए पनि त्यस्तो कुनै विवाद नरहेको बताए।
उनले प्रधानमन्त्रीसँग आफ्नो हरेक विषयमा निरन्तर संवाद भइरहेको जानकारी दिए। उनले प्रधानमन्त्रीसँग केही विषयमा फरक मत हुनु स्वभाविक भएको बताए। उनले अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनका आधारमा काम गरिरहेको उल्लेख गरे।
महतले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीको कुरा मिलेको छैन भन्ने कुरा आएको छ। प्रधानमन्त्रीलाई जानकारी नदिई बजेट कटौती गरियो। बजेटको बारेमा प्रधानमन्त्रीसँग छलफल भएको छ। हाम्रो निरन्तर संवाद छ। वादविवाद छ, प्रधानमन्त्रीसँग अर्थमन्त्रीको समन्वय भएको छैन भन्ने प्रचार भएको छ। प्रधानमन्त्रीसँग त्यस्तो कुनै विवाद छैन। यस्तो किसिमको भ्रम छर्नुको अर्थ पनि छैन।’
उनले संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन वा कटौती गर्न नसक्ने बताए। अर्थमन्त्री महतले अर्थमन्त्रालयले बजेट कटौती वा आकार नघटाएको भन्दै आम्दानी र खर्चको अनुमान मात्रै गरेको बताए। उनले सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेकोमा मन्त्रालयले अर्धवार्षिक मूल्यांकन गरी १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुनसक्ने संशोधित लक्ष्य राखेको बताए।
उनले भने, ‘सरकारको करिब १० प्रतिशत राजस्व वृद्धि भएको छ। सरकारले निर्धारण गरेको लक्ष्य अनुसारको राजस्व संकलन कठिन भयो भनेका छौँ। मन्त्रालयले बजेट कटौती गरेको होइन। जति सम्भव हुन्छ बढीभन्दा बढी खर्च गर्न कोसिस गर्छौं। राजस्व पनि जति सम्भव हुन्छ। त्यो उठाउन कोसिस गछौं। संसद्ले पारित गरेको विषय बीचमा बजेट कटौती र संशोधन गर्न सक्दैनौं।’
आगामी वर्षको बजेट सिलिङ १८ खर्ब गर्न सिफारिस
अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिलिङ तोकेर सिफारिस गरेको बताए। उनले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्बको ल्याउन सिफारिस गरेको बताए।
उनले बजेट निर्माणका लागि प्रधानमन्त्री र स्रोत अनुमान समिति र अर्थ मन्त्रालयको समेत सहभागितामा आवश्यक छलफलबाटै बजेटको सिलिङ तोकिएको बताए। उनले प्रधानमन्त्रीले एउटा सिलिङ र अर्थ मन्त्रालयले अर्को तथ्यांक राख्ने विषय नभएको बताए। उनले सम्भावना, चुनौती र आवश्यकताको विषयमा छलफल भएको बताए।
उनले मुलुकको आवश्यकता र स्रोतको दृष्टिकोणबाट छलफल भएर बजेट सिलिङ तोकिएको भन्दै बजेटको सिलिङको विषयमा दुविधा वा विवाद नभएको उल्लेख गरे।