
गगन थापा :जनताले कांग्रेसबाट भ्रष्टाचारमुक्त सुशासनको आशा गरेका छन्
चितवन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बएका छन्।
नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आज आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी भनेकै घर भएको उल्लेख गरे।
महामन्त्री थापाले भने, “पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो।”
पार्टीभित्र गुटको पछि नलागी आम मतदाता र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। पार्टी सञ्चालन गर्ने नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने महामन्त्री थापाले बताए।
अहिले जनताले देशमा कांग्रेसबाट भ्रष्टाचार मुक्त, सुशासन र कानुनी राज्यको आशा गरेको उल्लेख गर्दै उनले कानुनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताए।
महामन्त्री थापाले भने, “गलत गर्ने नागरिकले सजाय पाउँछ भने राजनीतिमा लागेर छुट हुँदैन। चाहे कुनै दलको सभापति होस् वा उच्च ओहोदामा आसिन व्यक्ति नै किन नहोस्।”