प्रचण्ड:पृथ्वीनारायण शाहले अपनाएका रणनीतिहरू अध्ययन गरेर जनयुद्ध थालेका थियौँ
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु गर्नुअघि पृथ्वीनारायण शाहले अपनाएको फौजी तथा कार्यगत रणनीतिहरूको अध्ययन गरेर जनयुद्ध सुरु गरेको स्मरण गरेका छन् ।
मंगलबारदेखि काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेपालमा विगतमा भएका सङ्घर्ष क्रान्तिको अध्ययनका आधारमा जनयुद्धलाई अघि बढाएको उल्लेख गरे ।
उनले भने, ‘विशाल नेपाल बनाउनका लागि पृथ्वीनारायण शाहले अपनाएका फौजी र कार्यगत रणनीतिहरूमा त्यसको के महत्त्व थियो भन्ने बारेमा सबैभन्दा बढी हामीले अध्ययन गर्र्यौँ । नेपालकै राजनीतिक सङ्घर्ष, वर्गसंघर्ष, क्रान्ति, नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा सशस्त्र विद्रोहको अनुभव, जुगेडी किसानको आन्दोलन लगायतको आधारमा नै नेपालमा जनयुद्ध सम्भव छ र जनयुद्धका माध्यमबाट सामन्तवादलाई परास्त गर्न सम्भव, निरङ्कुश तन्त्रलाई परास्त गर्न सम्भव छ भनेर हामीले जनयुद्धको थालनी गरेका थियौँ ।’
प्रचण्डले जनयुद्ध नेपालको एउटा महान्, ऐतिहासिक र दूरगामी रणनीतिक पहल रहेको र आगामी दिनमा पनि यसको महत्त्व रहिरहने बताए । सुरुमा यसको औचित्य, यसको ऐतिहासिक आवश्यकतालाई कैयौँ मानिसहरूले यसको अन्दाज गर्न नसकेको बताए । जनयुद्धलाई अपमान गर्ने, यसको तिथि मिति तोक्ने, ३ महिना, ६ महिना भन्दा बढी टिक्न सक्दैन भनेर त्यति बेलाका केही नेताहरूले बोल्ने गरेको उनले स्मरण गरे ।
उनले भने, ‘मानिसहरूले पत्याएको थिएनन् तर नेपाली समाजको वर्ग समाजको परिस्थितिलाई, आर्थिक विकासको परिस्थितिलाई, राजनीतिक विकासको परिस्थितिको अन्तर्विरोधलाई हेरेर मैले भन्ने गरेको छु, नेपालमा विगतमा भएका हरेक सशस्त्र आन्दोलनहरू र शान्तिपूर्ण जनआन्दोलनहरूको पनि गहिरो अध्ययन गरेर नै जनयुद्धको तयारी गरिएको थियो ।’
उनले जनयुद्धका क्रममा कैयौँ कमजोरी गरेर ठुला क्षति भए पनि दृढ इच्छाशक्तिका कारण सामन्तवादमाथि विजय हासिल गर्ने, नेपालका उत्पीडित जाती, क्षेत्र, वर्ग, लिङ्ग, समुदायलाई पहिचान, अधिकार र आत्मसम्मान दिन सफल भएको बताए ।