
धुम्रपान गर्न रोक बैतडीका सार्वजनिक स्थानमा
बैतडी : बैतडीका सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाइएको छ। सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ।
लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरेर कसैले सार्वजनिक ठाउँमा धुम्रपान गरेको पाएमा प्रहरीले कारबाही गर्ने भएको हो।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको बैठकले जिल्लाका सार्वजनिक स्थानमा धुम्रपान निषेधका लागि निर्णय गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। सार्वजनिक स्थानमा धुम्रपान निषेधका लागि प्रचारप्रसार अभियान सञ्चालन भएको समेत उनले बताए। २६ गतेदेखि जिल्लामा प्रचारप्रसार अभियान शुरु गरिएको थियो।
उक्त अभियान फागुन ११ गतेसम्म सञ्चालन हुने छ। कसैलाई सार्वजनिक स्थानमा धुम्रपान गरेको देखेमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रहरी प्रवक्ता केसीको भनाइ छ। लागुऔषध नियन्त्रण तथा रोकथाम जिल्ला सञ्जाल समन्वय समितिको बैठकले लागुऔषध नियन्त्रण तथा रोकथाम गर्ने निर्णय गरेको हो।
सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्नका लागि प्रहरी कार्यालय, मातहतका चौकी, सञ्चारमाध्यम‚ सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ समेत गरिँदै छ।
यसका साथै होटेल तथा रेष्टुराँमा स्मोकिङ जोन बनाउनुपर्नेछ।