पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङकी २१ वर्षीया देवीकुमारी परियारलाई प्रसूति व्यथाले च्यापेपछि प्रसूति गराउन धौलागिरि अस्पताल बागलुङ लगियो।
नाग्लीवाङ पर्वत जिल्लामा पर्ने भए पनि त्यहाँबाट बागलुङको अस्पताल नजिक र पर्वतको पर्वत अस्पताल दूरीका हिसाबले टाढा पर्ने भएकाले उनलाई परिवारले धौलागिरि अस्पतालमा लगेको थियो।
तर, धौलागिरि अस्पतालको सीमित जनशक्ति पहिलेदेखि नै अर्की गर्भवतीको शल्यक्रियामा व्यस्त थियो। गर्भावस्थामा रक्तचाप बढेपछि अचानक बेहोस हुने समस्या (इक्लाम्पसिया) को समस्या भएकी गर्भवतीको शल्यक्रिया चलिरहेका कारण नाग्लीवाङकी गर्भवतीले केही डेढ दुई घण्टासम्म प्रतीक्षा गरेर बस्नुपर्ने अवस्था आयो।
तर देवीलाई शल्यक्रिया र चिकित्सकको पर्खाइमा थप समय खर्चिन नहुने अवस्था आइलागेको थियो। गर्भमा रहेको बच्चाको मुटुको धड्कन कम भएपछि आमा र बच्चा दुवैको ज्यान जोखिममा परेपछि धौलागिरि अस्पतालकी नर्सिङ अधिकृत शान्ति भण्डारीले तुरुन्तै पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलालाई फोन गरेर बागलुङको अवस्थाका बारेमा जानकारी गराइन्।
पर्वत अस्पतालको टिमलाई शल्यक्रिया गराउनुमा कुनै समस्या नै थिएन। पछिल्लो समय गर्भवतीदेखि एपेन्डीसाइटीस, हर्निया लगायतका समस्यामा लगातार सफल शल्यक्रियाहरू पर्वतको अस्पतालको चिकित्सक टोलीले गरिरहेको छ।
पर्वत अस्पतालको टोलीले आफूहरू शल्यक्रियाका लागि तयार भएर बस्ने र गर्भवतीलाई जतिसक्दो छिटो पठाउने भनिएपछि करिब १७ किलोमिटरको दूरी पार गर्दै जोखिममा रहेकी देवीलाई पर्वत अस्पतालमा लगेर सफल शल्यक्रिया गरियो।
आमा र बच्चाको दुवैको ज्यान तुरुन्तै थप जोखिममा जान सक्ने भएकाले एम्बुलेन्सबाट सिधै अपरेसन कक्षामा लगेर शल्यक्रिया गरेर उनीहरूको दुवैको अवस्थालाई सामान्य अवस्थामा फर्काइएको पर्वत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बास्तोलाले बताए।
‘बागलुङको अपरेसन थिएटरमा इक्लाम्पसियाको समस्या हुनुभएकी गर्भवतीको शल्यक्रिया चलिरहेको बेलामा दोस्रो नम्बरमा जानुभएकी उहाँको शल्यक्रिया सम्भव थिएन,’ उनले भने, ‘बच्चाको मुटुको धड्कन कम हुँदै गएको अवस्थामा उहाँहरू रिस्कमा हुनुहुन्थ्यो। हामीले धौलागिरि अस्पतालको टिमलाई गर्भवतीलाई पर्वत पठाउन भनेपछि शल्यक्रियाका लागि तयार भएर बस्यौँ। एम्बुलेन्स आउनासाथ वार्डमा नलगी सिधै थिएटरमा लगेर सफल शल्यक्रिया गरेका हौँ।’ यो पोस्ट हाम्रो साझेदारहरु द्वारा प्रायोजित छ Wigs
पर्वत अस्पतालले पछिल्ला समयमा दिइरहेको शल्यक्रिया सेवाले अन्य जिल्लाका बिरामीहरूको समेत ध्यान तानिरहेको बताउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले दुई जिल्लाका दुई स्वास्थ्य संस्थाकाबीच भएको समन्वयले जोखिमपूर्ण अवस्थामा रहेका आमा र बच्चाको ज्यान बचाउन सकिएको बताए।
‘नजिकमा रहेका स्वास्थ्य संस्थाहरूले समन्वय र सहकार्य गरेमा मात्र पनि बिरामीको ज्यान बचाउन सकिँदो रहेछ भन्ने उदाहरण प्रमाणित भएको छ’, उनले भने, ‘शल्यक्रिया गरिएका आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। पर्वत अस्पतालले सीमित स्रोत र जनशक्तिकाबीच पनि जुन सेवा प्रवाह गरिरहेको छ यो हामी सबैको लागि उदाहरण हो। यहाँको स्वास्थ्यकर्मीहरूको खटन निकै सह्रानीय छ।’