२० हजार थाइभाट यात्रुको झोलाबाट चोरेको आरोपमा पक्राउ
काठमाडौं : त्रिभुवन विमानस्थलबाट पैसा चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार छन्। उनलाई नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।
याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिएपश्चात् सिसिटिभि समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देव बहादुरको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान थालेको थियो। अनुसन्धाका क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीले बताएको छ।
साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ। उनलाई थप अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।