श्रीस्वस्थानी व्रत देवी पार्वतीले समेत मानेकी देवी
काठमाडौं : सनातन धर्मावलम्बी नेपालीको घरमा बिहीबारदेखि श्रीस्वस्थानी व्रत चलिरहेको छ। स्वस्थानी देवी, उनको व्रत र कथा नेपाली, त्यसमा पनि काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो।
भारतीय हिन्दु समुदायमा स्वस्थानीको चर्चा पाइँदैन। पूजा गर्ने व्रत लिने र कथा सुन्ने गरिए पनि श्रीस्वस्थानी देवी भनेको को हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ।
महिनाभर पढिने ३१ अध्यायको स्वस्थानी व्रतकथामा समेत देवीको उत्पत्तिबारे खुलाइएको छैन। कथाको एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवी को हुन् भन्ने नै खुल्दैन। बाबु दक्षप्रजापतिले गरेको पतिनिन्दा सुनेर भएकी सतीदेवी यज्ञकुण्डमा हाम फाल्छिन्।
उनको मृत शरीरबाट एक–एक अंग पतन हुँदा एक–एक पीठ बन्छ। प्रत्येक पीठमा एक देवी र एक ईश्वर (महादेव) उत्पत्ति हुन्छन् र दर्शन गर्न आउने प्रत्येकलाई ईश्वरीले वरदान दिन्छिन्। देवी–देवता, मानिस, अन्य प्राणी र वनस्पतिलाई दर्शन दिई मागेअनुरूप वरदान दिने ईश्वरी यिनै स्वस्थानी परमेश्वरी त होइनन्? अझ सूक्ष्म दृष्टिले हेर्ने हो भने उनै सतीदेवीलाई स्वस्थानी देवी मानिएको त होइन? तर व्रतकथामा ठ्याक्कै खुल्दैन।
अर्को प्रसंगमा पार्वतीले अनेक प्रयास गर्दा पनि महादेव पति नपाएपछि भगवान् विष्णुले ‘श्रीस्वस्थानी परमेश्वरी’को व्रत गर्ने सल्लाह दिएको प्रसंग आउँछ। विष्णुले पार्वतीलाई स्वस्थानीको महिमा बताउँदा यस्तो भनेका छन्– अष्टमातृका (चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी) को माझमा तीन नेत्र, चार हात भएकी, विभिन्न वस्त्रालंकारले विभूषित भई त्रिशूल, तरबार, कमल र चक्र लिएर विराजमान भएकी सुवर्णको आभायुक्त देवीको स्वरूप छ–
अष्टासु च दलेष्वेव मातृकाष्टस्थितास्तथा।
खड्गं त्रिशूलं चोर्ध्वञ्च अर्धं च वरमुत्पलम्।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता।
सुवर्णवद्धिकासाभा स्वस्थानी परमेश्वरी।।
पार्वतीले विष्णुको सल्लाहमा व्रत बस्दा स्वस्थानी परमेश्वरी खुशी भई वरदान दिएको उल्लेख छ। महादेवकी अर्की पत्नी गंगाका साथै गोमा र चन्द्रावतीले विधिपूर्वक व्रत गर्दा स्वस्थानी देवी प्रसन्न भएर वरदान दिएको कथा प्रसंगमा आउँछ।
भगवान् शिवकी अर्धांगिनी पार्वती आफैँले व्रत गरेको र ऋषिहरूलाई गोमाकहाँ पठाएर व्रत बस्न प्रेरित गरेको प्रसंगबाट थाहा हुन्छ, स्वस्थानी उनले समेत मानेकी देवी हुन्।